'यथार्थबोध'-का सर्जक कृष्णा दीक्षित मौन साहित्य साधक हुन्। गृहस्थी जीवन र सर्जकीय जीवनमाझ सुन्दर सन्तुलन कायम राख्दै निरन्तर लेखन यात्रामा प्राण भरेकी छन्। नारी, शिक्षा, शोषित तब्का, शिक्षा, जन-संस्कार उनको कविताका मुख्य मुद्दा र विषय हुन् । मानवीय कष्ट र पीड़ाको पृष्ठभूमिमा आलोड़ित उनको कविताले केवल समस्याको वर्णन गर्दैन, बरू ती समसस्याको चरित्र समेतको उद्घाटन गर्ने गर्दछ। कष्टसाध्य जीवन भोग्न परे पनि धैर्य, सहिष्णुता र सङ्घर्षको निरन्तरतामार्फत् मानवीय जीवनले अन्ततोगत्वा सुगम लक्ष्यको प्रश्रय पाउन सक्ने प्रबल सम्भावना रहेको बोध दीक्षितको 'यथार्थबोध' को निगूढ़ तत्त्व हो।