भारतीय गोर्खा/नेपाली जातिसमुदाय विगत एक शताब्दीभन्दा लामो समयदेखि भारतमा आफ्नो अस्तित्व र चिन्हारीको निम्ति सङ्घर्षरत रहेको छ। जति यो जातीय चेतना घनीभूत छ, उति नै यसमा विभ्रान्ति पनि विकसित भएको छ; अन्तर्घात, धोका, छल र दिशाहीनता पनि यस आन्दोलनका लाक्षणिक विशेषता बन्नपुगेका छन् । प्रस्तुत उपन्यासले भारतीय गोर्खा/नेपाली जातित्वको मूल स्वर, सरोकार, चिन्ता र हाम्रा वैशिष्ट्यहरूलाई सुन्दर कथात्मक मालामा उनेको छ । कथाले विकासको क्रममा हाम्रो विविधतापूर्ण संस्कृति, सामाजिकता र वैचारिक सौन्दर्य साथै कुरूपताहरूलाई पनि उजागर गर्दै लैजान्छ। हामीले हाम्रो जातित्वलाई प्रान्तगत, जातगत र राजनैतिक सीमागत एकाङ्गी रूपमा होइन, तर समग्रतामा हेर्दा, जान्दा र बुझ्दा नै हाम्रो अस्तित्व सुरक्षित छ - उपन्यासले दिएको यो केन्द्रीय भावले नै उपन्यासलाई सार्थक बनाएको छ।