उपन्यास 'दफन' को लोकप्रियतापछि मेघनाथ दाहालको दोस्रो उपन्यास हो – 'साँधु' । पछिल्लो उपन्यासमा जस्तै यसमा पनि सामाजिक सरोकारलाई आख्यान-वृत्तको केन्द्रीय मुद्दा बनाइएको छ। गाउँ, गाउँलाई घेरेको जङ्गल, गाउँमाझबाट बग्ने खोला, गाउँकै आख्यानको मूल पात्र, सबैको नाम 'अम्बटे' राखिएको छ ।
वर्षों पुरानो अम्बटे खोलाको पुल झरेपछि धेरै गाउँलेले ज्यान गुमाउँछन्। अम्बटे माइला ज्यान गुमाउनेहरूका परिवारजनलाई क्षतिपूर्ति दिइनुपर्ने र नयाँ पुल बनाइनु पर्ने माग गर्दा गर्दै बितेर जान्छ । उसको मास्टर छोरा वासवजीत यही पुल निर्माणको यही सङ्घर्षलाई नियमितता दिँदै न्याय प्रणालीसम्म पुग्छ। भोटैपछि नेताहरूको आगमन हुने अम्बटे गाउँसम्म न क्षतिपूर्ति आइपुग्छ, न त नयाँ पक्की पुल ।
यही कथाको सेरोफेरोमा समाजको फेदसम्म गाउँको आदिकालदेखि जरा गाडेर बसेको भ्रष्टाचार र व्यभिचारको उत्खननको यो निरन्तर प्रक्रियाले टुङ्गो नपाई आख्यान बेटुङ्गो भएर टुङ्गिन्छ । समग्रमा लोकतान्त्रिक भनिएको व्यवस्थामा कसरी जनताले मौलिक अधिकार समेतका लागि लड़ाइँ गरिरहनुपर्दछ र कसरी उसको अस्तित्वमाथिको शोषणको जाँतो घुमिरहँदछ, त्यसको औपन्यासिक समाज-सौन्दर्यको नवीनतम र प्रभावी प्रयोग हो– 'साँधु' ।