सर्जक केवलचन्द्र लामाले समकालीन भारतीय नेपाली साहित्यमा कवि, कलाकार र शिक्षक मात्र नभई एक बहु-आयामिक स्रष्टाका रूपमा आफ्नो विशिष्ट परिचय निर्माण गरेका छन् । केवलको कविताले मानवीय संवेदना, प्रकृति, स्मृति, समय, जीवनदर्शन तथा अस्तित्वका सूक्ष्म आयामहरूलाई गहिरो कलात्मक चेतनाका साथ अभिव्यक्त गर्दछ। यीभन्दा पनि बढ़ी दार्जीलिङको आत्मा उनको कवितामा साक्षात् जीवन्त भएर चित्रित हुने गर्छ । सरल अभिव्यक्तिभित्र गहन अनुभूति, सौन्दर्यबोध र सामाजिक उत्तरदायित्वलाई समेट्ने उनको काव्ययात्रा निरन्तर विकसित हुँदै आएको छ।
'खण्ड-अखण्ड' (सन् १९९१), 'केवलय' (सन् १९९३), 'आँखेझरी' (सन् २०११), 'घर' (सन् २०१३) तथा 'खिलबुट्टा' (सन् २०२२) जस्ता कृतिहरूले उनको सशक्त काव्यचेतना, कलात्मक परिपक्वता र साहित्यप्रतिको अविचल निष्ठालाई प्रमाणित गरेका छन् । युग परिबोध गिरी पुरस्कार (१९९३), भाइचन्द प्रधान स्मृति पुरस्कार (२०१२), नन्द-हरि-नगेन्द्र स्मृति पुरस्कार (२०१९), लैनसिंह बाङ्देल स्मृति पुरस्कार (सन् २०२६) द्वारा सम्मानित भएका छन् ।
केवलय कवि केवलको बेस्टसेलर कविता कृति हो, जसमा ‘भक्तपुरको अनाम कलाकारलाई’, ‘बूढ़ा बा, तिम्री रेल सिकिस्त छे है’ जस्ता कालजयी कविता छन् ।