नीलम तामाङका कविताको क्यान्भस एउटा लामो समय स्पेसमा फैलिएको छ । दीर्घ दिनदेखि कवितामार्फत् समयको चित्र आँकिरहेकी नीलम चोटिलो प्रतीक, परिपक्व विम्ब र इमान्दार भावहरूले समयको बदलिँदो अनुहारको सचेत अभिलेखन गर्छिन् । विशेष गरी नारीवादी चेतना, लैङ्गिक विचार, उत्पीड़ित चेतना, रुढ़िवादको आलोचना, राजनैतिक व्यङ्ग्य, धर्मान्धताको आलोचना नीलमको कविताका मूल मुद्दा हुन् । बितिसकेको, बितिरहेको र आउँदै गरेको पुस्तामाझको वैचारिक पुल हाल्नु पनि नीलमका कविताको प्रणयन रहिआएको पाइन्छ । मक्किसकेको सामाजिक घरदैलोमा नयाँ युगले दिएको परिवर्तनको दस्तक नीलमको कविता हो। कुलैनबारी मङ्पू, दार्जीलिङको मनोरम पहाड़मा जन्मिएकी नीलम तीन दशकदेखि कविता लेखनमा सक्रिय छिन् । कविताबाहेक गीत र नाटक पनि लेख्ने सौख राख्छिन् । हिन्दी र उर्दूमा समेत कविता लेख्न रुचाउँछिन् । अगमसिंह गिरीको खण्डकाव्य 'युद्ध र योद्धा' को ओपेरा ('आधी धरती, आधा आकाश समूह' द्वारा सञ्चालित) मा नाट्य निर्देशन गरेकी छन् । गणितमा स्नातक हुन् । भाषाविज्ञान उनको विशेष चासोको क्षेत्र हो। पेशाले पश्चिम बङ्गाल लोक सेवा अधिकारी हुन् । हाल सिलगढ़ीमा सामाजिक रूपले सक्रिय जीवन निर्वाह गर्छिन् । मार्न नसकिएका बोक्सीका छोरीहरू कवि नीलमको पहिलो कृति हो ।