पल्लविबले सामाजिक, राजनैतिक विषयहरूमा लेखेका कविताहरू पावरफुल हुन्छन्। पिरतीमाथि रचिएका कविता झनै पावरफुल। कोमल तर सबल, लचकदार तर दह्रो, क्षणिकताबोध गराउने तर कालजयी पिरती कविता लेख्छन् पल्लविब। लाटीलाई मायालु प्रतीक बनाएर पिरतीमाथि लेखिएका कविताहरूले नेपाली कविताका पाठकलाई एउटा छुट्टै धारको स्वाद दिने सम्भावना यस सङ्ग्रहमा निहित छ। नेपाली कवितामा एउटा नयाँ अप्रोच, एउटा नयाँ ट्रेण्ड र एउटा नयाँ ताजापनको पेशगी हो पल्लविबको लाटी। फिल्म संसारमा प्रसिद्धि कमाइसकेका दार्जीलिङका पल्लविब राई नेपालमा आयोजित संसारकै पहिलो कविता रियालिटी शो 'द पोएट आइडोल' फाइनलिस्ट हुन्। द पोएट आइडोलमा 'लाटी' कविताले दर्शक श्रोता-पाठकको मनमा विशेष ठाउँ ओगटेको हो। डिजिटल युगमा नेपाली कवितालाई डिजिटल्ली स्थापित र लोकप्रिय गराइरहेका पल्लविब पर्फमेन्स पोएट्रीका सशक्त युवा हस्ताक्षर हुन्। बालाजी मोशन पिक्चर्स, मुम्बईमा सिनेम्याटोग्राफीमा डिप्लोमा गरे। तीनपल्ट ग्रामी पुरस्कार जित्ने विश्वस्तरीय सङ्गीतकार रिक्की केजसँग दुईवटा एल्बममा सिनेम्याटोग्राफी र एडिटिङको सहकार्य गरे। बाउलमाथि निर्मित वृत्तचित्रमा छायाँकनको काम गरेका छन्। पल्लविबको सिनेम्याटोग्राफी रहेका फिल्म 'बुवा' र 'शेर्पाज अमिस्ट द मिस्ट' अन्तर्राष्ट्रिय फिल्म समारोहहरूमा प्रदर्शित भएका छन्। अन्तर्राष्ट्रिय एथ्निक ब्याण्ड 'थ्री सीज' को साङ्गीतिक फिल्मलगायत दुई दर्जन जति मिउजिक भिडियोको निर्देशन गरेका छन्। द पोएट आइडोलको दोस्रो सिजनमा सह-निर्देशकको भूमिका निर्वाह गरेका छन्। शैक्षिक संस्थानहरूमा फिल्म निर्माणमाथि कार्यशालाहरू सञ्चालित गरेका छन्। साङ्ग्रिला दार्जीलिङ लिट-फेस्ट २०१९ का सह-संयोजक रहेका पल्लविब दार्जीलिङको बिछट्ट सुन्दर गाउँ झेपीमा आमा पुष्पा लामासँग बसोबासो गर्छन्।